चुहिएको खरको छानो अब चाँडै टाल्छु आमा ।
निभ्दै बल्ने घरको चुल्हो अब सधैं बाल्छु आमा ।
बुद्धि दियौ बिबेकसँगै परिश्रमी छँदै थिएँ,
हिड्ने बाटो देखाई देको पछ्याउन थाल्छु आमा ।
तिमीले नै जुटाई दे को आँट अनि साहसले,
धरोधर्म बिश्वास गर हाम्रो दुख ढाल्छु आमा ।
बेच्ने छैन इज्वत कैले मर्यादामै बाँच्छु मर्छु,
प्रण गर्छु खराब बानी रैछ भने फाल्छु आमा ।
चिन्ता छोड्नु मनमा अब मेरै भर परे हुन्छ,
खुशी दिन नसके पनि सुखसँग पाल्छु आमा ।
२. गजल
सधै पिडा दिने मायाँ, नगर भनी दिएँ ।
छुटे पछी आँखा सामु, नपर भनी दिएँ ।
भित्रै देखि तिम्रो रूप, कुरूप भएपछी,
अब हेर्नु छैन तिम्रो, नजर भनी दिएँ ।
बिलौनामा तिम्रो आँसु,रित्तिएर क्यै हुन्न,
आँसु झारी बन्दैन त्यो,नहर भनी दिएँ ।
तिम्रो आफ्नो मर्यादामा,इमानी भई बाँच,
बिना बिथा गिरी त्यसै,नझर भनी दिएँ ।
कैले भेट नहुने त्यो, दुई किनारा भई,
पूर्वेली'को सामिप्यमा, नसर भनी दिएँ ।
३. गजल
सन्तान जन्माई ज्यूँदै फाल्ने,माउहरू बढ्न थाले ।
आफ्नै छोरी बलात्कार गर्ने, बाउहरू बढ्न थाले ।
समय काल उचित छैन, जोगिएर हिड्नु राम्रो,
जागीर भन्दै अस्मिता लुट्ने,साउहरू बढ्न थाले ।
पसीनाको भेल बगाउने, भोकभोकै मर्छ होला,
गरीब पेटमा लात मार्दै, भाउहरू बढ्न थाले ।
दानव रूपी संसार भयो, मानवता छैन जस्तो,
प्रतेक मनमा खुट्टा तान्ने दाउहरू बढ्न थाले ।
अस्तित्वलाई जोगाई अब,मान्छे बन्न गाह्रो भयो,
दुर्गतिलाई पछ्याई बाटो पाउहरू बढ्न थाले ।
४. गजल
अमृत त कोहीलाई बिष खुवाउने नी मायाँ ।
हसाई कोही जीवनभरी रूवाउने नी मायाँ ।
दुई आत्माको बिचमा मिलन हुन नसकेमा,
जीन्दगीलाई बर्बाद पारी डुबाउने नी मायाँ ।
साँचो मायाँ हुंदा पनि दैव शत्रु लाग्यो भने,
पलपल मार्दै आँशु मात्रै चुवाउने नी मायाँ ।
मनले मनको साथ पाए सुखी संसार बन्छ,
सफलताको रम्दै शिखर छुवाउने नी मायाँ ।
झूटो प्रेमको जालमा परी फसेपछी जीवन,
मनमा खुशी फूल्न नदिई तुवाउने नी मायाँ ।
५. गजल
घर सम्झी रूँदै रूँदै, कति बस्ने बिदेशमा ।
आँसु झार्दै पीर धुँदै, कति बस्ने बिदेशमा ।
छटपटिमै रात बित्छ नरोएको दिनै छैन्,
सधैं भिज्ने आँखा छुँदै, कति बस्ने बिदेशमा ।
बाध्यताले मन बाँधी पिरोलिदै बाँची रा'छु,
सधैं भरी दुखी हुँदै, कति बस्ने बिदेशमा ।
नत सुख मिल्छ केही नत पुग्छ चाहाना नै,
मिठा सप्ना मात्रै बुन्दै, कति बस्ने बिदेशमा ।
भै गो बरू भोकै मर्छु सक्तिन म यसरी त,
आधा मरी आधा ज्यूँदै, कति बस्ने बिदेशमा ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया
No comments :
Post a Comment