Sunday, May 12, 2013

620.गजल- कोमल भट्टका ५ गजलहरू

१) गजल 

आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो
कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो

डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै
द्यौरालीमा चोखो ढुङ्गो,नफेंकेको धेरै भयो

घुम्दाघुम्दै साँझ पर्थ्यो हतारिंदै हिड्थ्यौँ अनि
 बाटो छेक्थ्यौँ जिस्किएर,नछेकेको धेरै भयो

पकाउथ्यौँ मिलिजुली,आपसमा प्रेम बाँड्दै
हाँसी हाँसी भुङ्ग्रे रोटी,नसेकेको धेरै भयो

हृदयमा छचल्किन्छन अनगिन्ति यादहरू
लेखौँ भने मुटु पोल्छ,नलेखेको धेरै भयो
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका



२) गजल
भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु
बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु

सिर्जनालाई चोरी गर्दै राखेकाछन् नाम आफ्नै
यस्ता जाली छद्मभेषी गज़लकारलाई देखेको छु

फुर्तिला र रवाफिला सम्पन्न झैं लाग्छन सधैँ
हृदयका हरिकङ्गाल नाङ्गेझारलाई देखेको छु

कुविचारले हिंडेका छन् लाज शरम बिर्सिएर
कूलमै आगो लगाउने कुलङ्घारलाई देखेको छु

मनै दुख्ने फट्याईंले ढाक्न खोज्यो जताततै 
षड्यन्त्रले भरिएको व्यवहारलाई देखेको छु
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

३) गजल
बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी
जति दु:ख परे पनि नआत्तिनु साथी तिमी

राम्रा हुन्छन आफ्नै रीति,संस्कृति र परम्परा
बिदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी

खप्नु पर्छ जिन्दगीमा कयौँ चोट र हण्डरहरू
काटिएको चङ्गा जस्तै नच्यातिनु साथी तिमी

क्षमाशीलता भन्दा ठूलो संसारमा केही छैन
रिसारिसले झोक्किएर नतात्तिनु साथी तिमी

सधैँ भरि मीठो हुन्छ सुमधुर र "कोमल"बाणी
सारगर्भित कुरा गर्नु नबात्तिनु साथी तिमी
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

४) गजल
न रच्दै खुसीको कहानी हरायो
सुबिस्ता र हाँसो नजानी हरायो

अभावै अभावले सतायो असाध्यै
निरन्तर दुखैमा जवानी हरायो

अधिक छटपटीमा बिते रात सारा
सधैँ स्नेह बाँड्ने सिरानी हरायो

जता हेर्छु शून्यै भयो देख्छु कालो
नयनको उज्यालो र नानी हरायो

कयौँ वर्ष "कोमल" दिलैमा बसेथ्यो
सरस प्रेम छर्ने निसानी हरायो
( भुजङ्गप्रयात छन्द )
गण :- य य य य
सूत्र:- ISS ISS ISS ISS
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

५) गजल
यो नयाँ वर्ष हाँसेर आओस मेरो छ कामना
प्रेमको माला गाँसेर आओस मेरो छ कामना

स्वार्थको बोट ढलेर जाओस कुविचार हराओस
सङ्कष्ट जति मासेर आओस मेरो छ कामना

हत्या र हिँसा बलात्कार अनि हरणभो धेरैको
पैशाचिक चाला नासेर आओस मेरो छ कामना

 कुकर्मी मिली डुवाये देश आफू चाँहि बनेर 
यी सबै घातक छाँसेर आओस मेरो छ कामना

दाजु र भाइ,दिदि र बहिनी,स्वदेस र बिदेशमा
शुभको शन्देस टाँसेर आओस मेरो छ कामना

यो नयाँ वर्ष हाँसेर आओस मेरो छ कामना
प्रेमको माला गाँसेर आओस मेरो छ कामना
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

No comments :

Post a Comment