Showing posts with label कोमल भट्ट. Show all posts
Showing posts with label कोमल भट्ट. Show all posts

Monday, November 25, 2013

685.कोमल भट्टका तीन गज़ल

कोमल भट्टका तीन गज़ल
--------------------------

१)कोमल गज़ल
***********
यसपाली त पक्कै पनि बन्ला संविधान
संसारमा नेपालीको होला पहिचान

गणतन्त्र आउँदा गयो ज्यान धेरैको
सम्झिन्छन् कि शहिदको सच्चा बलिदान ?

विगतमा बदनाम भो नामै देशको
ल्याउनु पर्छ फिर्ता अब मान सम्मान

कति सुन्नु कालो कर्तुत नेताहरूको
अब देखि हुन्न कि त कुर्सि तानातान ?

हाम्रा होइन राम्रा मान्छे छानौं रोजेर
बहिष्कारले गुम्न सक्छ नेपालीको शान

हराएको आशा फेरि खोजौँ एकचोटी
घरै पिच्छे सुशान्तिको आउँछ कि बिहान ?

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
मुङ्गसिर ४,२०७०

२)
कोमल गज़ल
-------------
बारम्बारै बन्द पार्दा रोएको छ देश आज
निरपराध मान्छे मार्दा रोएको छ देश आज

किन दिन्छन् निमुखालाई शासना यी नेताहरु
नेपालीले आँसु झार्दा रोएको छ देश आज

छैन यहाँ नैतिकता र इमान्दारी कसै सँग
समझदारी सधैँ टार्दा रोएको छ देश आज

आफू बन्न पाए पुग्यो भन्छन् यहाँ धेरै जना
जनताका इच्छा हार्दा रोएको छ देश आज

गरी खान पाउनु पर्ने अधिकार हो नागरिकको
सबको हकमा बार बार्दा रोएको छ देश आज

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

३)
आदरणीय पोस्टराज सरको नयाँ छन्द "चोयु"मा आधारित :-
कोमल गज़ल
***************
उराठ लाग्दो शहरले सताउँछ
घुरेर भोका नजरले सताउँछ

भुलेर बाटो म त फसें बिरानमा
भएर ब्यर्थै सफ़रले सताउँछ

न मान पाएँ नत भयो सुनाम नै
गुमेर सारा कदरले सताउँछ

गरेछु कामै अगतिलो हुँदा हुँदै
गढेर यस्को असरले सताउँछ

दिएर पिडा नियतिले ठगे सधैं
दुखेर चारै पहरले सताउँछ

म देश खोज्दै फकिर झैं भएँ यहाँ
निराश पार्दै सगरले सताउँछ

छन्द - चोयु
(५ अक्षरमा विश्राम )
ज त स ज गु

कोमल भट्ट
पुरानो नैकाप -७,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क

Saturday, November 9, 2013

684. गज़ल:-नभन्दै रुवाएर आयो तिहार

दीपावलीको हार्दिक मङ्गलमय शुभकामना !













कोमल गज़ल

-------------
नभन्दै रुवाएर आयो तिहार
सिरानी भिजाएर आयो तिहार


न बैनी,दिदी नै भए साथ मेरो
सहारा छुटाएर आयो तिहार


न टीका छ याहाँ न माला उनेको
असाध्यै दुखाएर आयो तिहार


नयन्मा घुमे सेल,रोटी,अनर्सा
नियाँस्रो लगाएर आयो तिहार


बलेनन् कुनै दीप पाला भरेका
उज्यालो हराएर आयो तिहार


कहानी भए आज भैली र देउसी
खुसी त्यो धपाएर आयो तिहार


थियो भाग्य दोषी र डाँडा कटायो
विगतले सताएर आयो तिहार


शुभेच्छा गरेको छु "कोमल"मनैले
मनाऔँ रमाएर आयो तिहार

( भुजङ्गप्रयात छन्द )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Tuesday, October 29, 2013

683.कोमल भट्टका २ गज़ल

कोमल भट्टका २ गज़ल
----------------------

१)
कोमल गज़ल
********
जिन्दगानी कहिल्यै पनि,नटुङ्गिने यात्रा रैछ
सधैँ घुम्छन् दु:ख सुख,नरित्तिने यात्रा रैछ

आनन्द र हाँसो बिना,रोएको छ डाँको छोड्दै

अनन्त यो पीर व्यथा,नछोपिने यात्रा रैछ

अस्तव्यस्त पारेकाछन्,समस्याले घेर्दै घेर्दै

जति मरिमेट्दा पनि,नसुध्रिने यात्रा रैछ

छुट्टिएर सहयात्री लागे,आफ्नै गन्तव्यमा

कहाँ कहाँ पुगे होलान्,नभेटिने यात्रा रैछ

बोक्नु पर्ने गह्रौं भारी,ठाउँ छैन बिसाउनलाई

लगातारै दौडेको छ,नरोकिने यात्रा रैछ

एकादेशकै कथा भए,पुराना ती आत्मीयता

बिर्सी सके "कोमल" मन,नसम्झिने यात्रा रैछ

कोमल भट्ट

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
------------------------
२)
(आदरणीय पोस्टराज सरको छन्द
"पान्पोचे" मा आधारित )
कोमल गज़ल
----------------
रगत हुन्छ रातै,दलित कोही छैन
जनम देखि याहाँ,पतित कोही छैन

गर विचार ठूलो,नियत राखी साफ

सकल प्राण एकै,कथित कोही छैन

नभन माथि तल्लो,कपट छोडी देऊ

बचपनै नबित्दै,पठित कोही छैन

विगत बिर्सिएरै अब त माया राखौँ

नजर आज फेरौँ,अहित कोही छैन

फरक वर्ण भन्दै,नगर हेँला फेरि

बुझ,मनुष्य आफैँ रचित कोही छैन

७ अक्षरमा विश्राम

छन्द:- पान्पोचे

कोमल भट्ट

पुरानो नैकाप काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Saturday, October 19, 2013

681. गज़ल -असल जन चुनेमा,बन्छ नेपाल हाम्रो













कोमल गज़ल
-------------
असल जन चुनेमा,बन्छ नेपाल हाम्रो
सकल मन मिलेमा,बन्छ नेपाल हाम्रो

अब त शरम होला,सम्बिधानै नबन्दा
लगन सित गरेमा,बन्छ नेपाल हाम्रो

धुरु धुरु मन रोयो,ब्यर्थ भो वर्ष चारै
अदब हुन सकेमा,बन्छ नेपाल हाम्रो

कलह अति भएरै,ठप्प भो काम सारा
असहमति हटेमा बन्छ नेपाल हाम्रो

अलमल नगरे नै,मिल्छ गन्तव्य चाँडै
पयर अघि बढेमा,बन्छ नेपाल हाम्रो

छल कपट हुनाले,छैन क्यै शुद्ध भाव
कुमति जति हिंडेमा,बन्छ नेपाल हाम्रो

(मालिनी छन्द)

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका


Tuesday, October 8, 2013

680. गज़ल:-गरेँ आज पूजा खुसी हौ भवानी












विजयादशमीको हार्दिक मंगलमय शुभकामना !!
कोमल गज़ल
***********
गरेँ आज पूजा खुसी हौ भवानी
सजाएँ नयनमा बनाएर नानी

घटस्थापना भो दशैँ घर घरैमा
रमाए युवा बृद्ध,बालक र ज्ञानी

हटोस् आपतै,बिघ्न,बाधा,बिरोध
हंसाएर हाँसुन् हराओस् थकानी

बनौं क्यै सहारा दुखेका जनैमा
हरौं कष्ट तिनको लिंदै भाव दानी

सही,सत्य हर्दम विजेता छ जानौँ
कुकर्मी र पापी हुनेछन् रछानी

नठानौं न हामी सजिब प्राण भिन्नै
सबैको बराबर छ यो जिन्दगानी

Saturday, October 5, 2013

678. गज़ल:-नेपालीको आँगनमा,रमाएर आओस दशैँ

विजया दशमी(२०७०)को उपलक्षमा
 हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु
कोमल गज़ल
***********
नेपालीको आँगनमा,रमाएर आओस दशैँ
सम्वृद्धि र सुख शान्ति,बनाएर आओस दशैँ

भवानीले रक्षा गरुन,आशा इच्छा पूरा गर्दै
जमरा र रातो टीका,सजाएर आओस दशैँ

स्वच्छताको बाग भित्र,प्रेम फूल रोपौँ आजै
हृदयको कालो मैलो,हटाएर आओस दशैँ

सबै प्राणी बराबरी,ठान्नु पर्छ सज्जनले
कर्तव्यको राम्रो पाठ,पढाएर आओस दशैँ

आपसमा सद्प्रेम र,सद्भावना छर्दै छर्दै
घरै पिच्छे खुसी हाँसो,बर्षाएर आओस दशैँ

झगडाको बीज रोप्छ,कठोरताले सधैँ भरि
भए हुन्थ्यो "कोमल"मन,सम्झाएर आओस दशैँ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
(हाल:- न्युयोर्क,अमेरिका )

677. गज़ल:-सुनाऊँ कहाँ गै ? दुखेको छ छाती

कोमल गज़ल
********
सुनाऊँ कहाँ गै ? दुखेको छ छाती
झरी आँसु धेरै भिजेको छ छाती

न आयो सुखैमा रमेको पला त्यो
सधैँ प्यास मात्रै सहेको छ छाती

म भोग्दै छु नाना थरीका समस्या
परी चोट साह्रै चिरेको छ छाती

भयो भित्र पीडा गढी तीर तीखो
बनाएर डाहा जलेको छ छाती

लछार्दै पछारे सयौँ बाध्यताले
उचालेर फ्याँक्दा फुटेको छ छाती

खुसीको बिहानी थियो कल्पनामा
अझै आश गर्दै ढुकेको छ छाती

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क

Monday, September 16, 2013

671. समुन्द्रमा उर्लिएको छाल झैँ छ जीवन

कोमल गज़ल
****
समुन्द्रमा उर्लिएको छाल झैँ छ जीवन
टुटिहाल्ने माकुराको जाल झैँ छ जीवन

मर्न पनि नसकेको बाँचेको नि होइन
हिंउदमा घिरौँलाको झाल झैँ छ जीवन

लोभ,लालच,तिर्सनाले घेरेको छ टन्नै
दुर्गन्धले भरिएको ताल झैँ छ जीवन

निलेकाछन् घाम,पानी,हूरी,वतास मिल्दै
जताततै चुहिएको पाल झैँ छ जीवन

जति च्याँखे थापे पनि बल्झिंदैन कहिल्यै
सधैँ हार्ने जूवा तासको खाल झैँ छ जीवन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Wednesday, September 11, 2013

670. गज़ल:-कृष्ण तिम्ले हँसाएको भुलौँ कसरी

"Happy Janmashthami To All"
श्री कृष्णाष्टमीको उपलक्षमा
****हार्दिक शुभकामना ****
--------------------------
कोमल
**************
कृष्ण तिम्ले हँसाएको भुलौँ कसरी
बाँसुरी त्यो बजाएको भुलौँ कसरी

घर घरै चाहारेर मखन चोर्दथ्यौ
मटकालाई फुटाएको भुलौँ कसरी

जताततै मोहिनी झैं रुप झल्किन्थ्यो
राश लिला रचाएको भुलौँ कसरी

गोपिनीलाई पार्थ्यौ सधैं प्रेम जालैमा
वृन्दाबनमा पर्खाएको भुलौँ कसरी

गाई,गोप बोलाएर नाच्थ्यौ दिनदिनै
छाती कम्मर मर्काएको भुलौँ कसरी

कति राम्रो अनुहार छ देख्दै लट्ठिने
पिताम्बरी लगाएको भुलौँ कसरी

धप्प बल्थ्यो निधारमा सुर्के चन्दन
कति राम्रो सुहाएको भुलौँ कसरी

अधर्मी र पापी सबको सातो उडायौ
कंश मामा सिध्याएको भुलौँ कसरी

अनगिन्ति ज्ञान छर्यौ कर्म योगको
गीतामृत बताएको भुलौँ कसरी

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
भाद्र १२ ,२०७० बुधवार
(श्री कृष्णाष्टमी )
गज़ल

669. गज़ल:-जाऊँ न साथी यसपाली त चुनाव लड्नु पर्छ

कोमल गज़ल
********
जाऊँ न साथी यसपाली त चुनाव लड्नु पर्छ
भविष्यको उन्नतिमा अघि बढ्नु पर्छ

गैह्री गाउँका रिट्ठे दाइले टिकट पाए भन्छन
हामी पनि मन्त्रि हुँदै मोटर चड्नु पर्छ

काठमाडौँ मै बिर्खे बाले महल खडा गरे
हाम्रो भाग्य चम्क्यो भने हीरा जड्नु पर्छ

सान्नानीले स्कुल छोडिन मनोनितमा पर्न
ल्याप्चे हाल्न सक्छिन उनी किन पढ्नु पर्छ

"जसको शक्ति उसको भक्ति"सोच्छन नेप्टे काजी
सबै कुरा पूरा हुन्छन निहुँमा अड्नु पर्छ

जाली,झेली कान्छा बाजे सधैँ सुख काट्छन्
इमान्दारले कुना भित्र रुँदै सड्नु पर्छ

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ

668. तीजका तीन गज़ल

तीज विशेष २०७०
तीजका तीन गज़ल
----------------------------
(१)
कोमल गज़ल
****************
सखारै तिमी आउनु है चेली तीजको दिनैमा
माइतीको आँगन पार उजेली तीजको दिनैमा

हँसाई दिनु रोएको मनलाई नाचेर छमछमी
सजाउनु फूल बेली चमेली तीजको दिनैमा

प्रकृति देवी हुनेछिन मक्ख तिमीलाई पाएर
रमाउलान सारा साथी सहेली तीजको दिनैमा

हराउला कालो औंशीको रात्री चन्द्रमा देखेर
झुल्किदेऊ अब छिट्टै जुनेली तीजको दिनैमा

घनकाइदेऊ मिठो स्वरले सबै पाखा र पखेरो
संगीत मिठो देलान बयेली तीजको दिनैमा

मुटुको टुक्रा आँखाको नानी तिमी हौ जुहार
नठान्नु कहिल्यै आफू अकेली तीजको दिनैमा

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका


२)
कोमल गज़ल
************
रोएको होला माइतिको आँगन के जानु तीजैमा
आँसुले टन्नै भरिन्छन नयन के जानु तीजैमा

परदेशी भए बाबा र आमा शून्य भो चाहाड
सहनै पर्यो दैवको खटन के जानु तीजैमा

ओइलेका होलान जाही र जूही फुल्न नै बिर्सेर
सन्नाटा देख्दा छुट्नेछ रोदन के जानु तीजैमा

रमाउँदै होलान सँगिनी आफ्ना छम छमी नाचेर
सक्दैनन् गर्न पीडाको मापन के जानु तीजैमा

सम्झना हुन्छ स्वर्ग झैं संसार मायाले भरेको
रोकिन खोज्छ मुटुको धड्कन के जानु तीजैमा

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका


(३)
कोमल गज़ल
**************
तीजको रहर पनि गयो बरिलै
खुसीको लहर पनि गयो बरिलै

दु:ख सुख सबैमा घुम्छ फन्फनी
कैयौंको कहर पनि गयो बरिलै

रङ्गी चंगी झल्केका सबै निख्रिए
मस्तीको शहर पनि गयो बरिलै

तड्पे होलान कति त तीखा बाणले
आँसुको जहर पनि गयो बरिलै

कोही हाँसे मनग्यै कोही रोइरहे
भाग्यको ठहर पनि गयो बरिलै

बाटो लाग्यो चाहाड बर्ष दिनैको
आनन्दी पहर पनि गयो बरिलै

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Wednesday, August 28, 2013

667. कृष्ण तिम्ले हँसाएको भुलौँ कसरी

 श्री कृष्णाष्टमीको उपलक्षमा
****हार्दिक शुभकामना ****
--------------------------
कोमल गज़ल
**************
कृष्ण तिम्ले हँसाएको भुलौँ कसरी
बाँसुरी त्यो बजाएको भुलौँ कसरी

घर घरै चाहारेर मखन चोर्दथ्यौ
मटकालाई फुटाएको भुलौँ कसरी

जताततै मोहिनी झैं रुप झल्किन्थ्यो
राश लिला रचाएको भुलौँ कसरी

गोपिनीलाई पार्थ्यौ सधैं प्रेम जालैमा
वृन्दाबनमा पर्खाएको भुलौँ कसरी

गाई,गोप बोलाएर नाच्थ्यौ दिनदिनै
छाती कम्मर मर्काएको भुलौँ कसरी

कति राम्रो अनुहार छ देख्दै लट्ठिने
पिताम्बरी लगाएको भुलौँ कसरी

धप्प बल्थ्यो निधारमा सुर्के चन्दन
कति राम्रो सुहाएको भुलौँ कसरी

अधर्मी र पापी सबको सातो उडायौ
कंश मामा सिध्याएको भुलौँ कसरी

अनगिन्ति ज्ञान छर्यौ कर्म योगको
गीतामृत बताएको भुलौँ कसरी

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
भाद्र १२ ,२०७० बुधवार
(श्री कृष्णाष्टमी )

Sunday, August 25, 2013

666. गज़ल:-सकेसम्म हामी रमाएर बाँचौ

कोमल गज़ल
*********
सकेसम्म हामी रमाएर बाँचौ
सधैँ नाम इज्जत् कमाएर बाँचौ

नरोजौं छहारी उपेक्षा जहाँ छ
नछुट्ने सहारा समाएर बाँचौ

गरौं प्रेम भोका र निर्बलहरूमा
भरोसा र आशा थमाएर बाँचौ

बिराएर बाटो हिंडे हुन्छ सास्ती
सही के गलत् के ठमाएर बाँचौ

रहोस् भाव चोखो सबैमा समान
नसोचौँ न "कब्जा जमाएर बाँचौ"

( भुजङ्गप्रयात छन्द )
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Thursday, June 20, 2013

651. गज़ल:-दैव तिमी निष्ठुर रैछौ सास लुट्यौ किन


दैव तिमी निष्ठुर रैछौ सास लुट्यौ किन
विचरा ! ती निर्दोषको बास लुट्यौ किन

लह लह धान झुल्थे हरियाली फाँट
ढुङ्गे बगर बनाएर गाँस लुट्यौ किन

चारैतिर कोलाहल छ को को पुगे कता
बाबु आमा सन्ततिको पास लुट्यौ किन

घर बारै बग्यो जम्मै गर्ल्याम गुर्लुम ढल्दै
हाड खोरै भेटिएनन लास लुट्यौ किन

मिलिजुली बस्थे सबै दु:ख सुख बाँड्दै
हाँस्दै खेल्दै खुसी हुन्थे रास लुट्यौ किन

छिटो राहत बाँड सरकार भन्छ "कोमल" मन
सुन पुकार निमुखाको आश लुट्यौ किन

कोमल भट्ट
पुरानो नैकाप -७ ,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क

Sunday, May 12, 2013

620.गजल- कोमल भट्टका ५ गजलहरू

१) गजल 

आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो
कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो

डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै
द्यौरालीमा चोखो ढुङ्गो,नफेंकेको धेरै भयो

घुम्दाघुम्दै साँझ पर्थ्यो हतारिंदै हिड्थ्यौँ अनि
 बाटो छेक्थ्यौँ जिस्किएर,नछेकेको धेरै भयो

पकाउथ्यौँ मिलिजुली,आपसमा प्रेम बाँड्दै
हाँसी हाँसी भुङ्ग्रे रोटी,नसेकेको धेरै भयो

हृदयमा छचल्किन्छन अनगिन्ति यादहरू
लेखौँ भने मुटु पोल्छ,नलेखेको धेरै भयो
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Thursday, March 14, 2013

611.कोमल भट्टका १० गजलहरु

1)
कोमल गज़ल
**************
भरोषा गरेथेँ ढल्यो आज फेरी
खरानी भएरै बल्यो आज फेरी

दियौ घात धोका कसम बिर्सनाले
विचारेर मष्तक गल्यो आज फेरी

उडाएर स्वप्ना अधिक शून्य पार्दै
मनैमा हुरी पो चल्यो आज फेरी

कपटले सबै चीज निखारेर लुट्दै
अधर्मी निठुरले छल्यो आज फेरी

608.कोमल भट्टका गजलहरु

1)कोमल गज़ल
खुसी सारा लुटी रित्तै,बनायो पापी मायाले
कसैको आँसुमा उत्सव,मनायो पापी मायाले

देखिँदै मुखमा राम ,भित्र छुरा लुकाउँदै
सबैभन्दा असल आफैँ,भनायो पापी मायाले

फसाई प्रेममा झुटो,निमोठी घाँटी सोझाको
मुटुनै टुक्रने वाणै,हनायो पापी मायाले

पुर्याई डिलमा छल्दै ,घचेडी भीर पैह्रोमा
घडा त्यो बिषले पूर्ण,खनायो पापी मायाले

Wednesday, January 30, 2013

603.कोमल भट्टका ५ गजलहरु

(1) गज़ल
*****
छचल्क्यो जवानी उबायो कसैले
कसी प्रेम पाशमा डुवायो कसैले

अति प्रीतले मन्द मुस्कान छर्दै
सुधा जल खन्याई नुवायो कसैले

हुँदा अर्ध चेतमा पियाएर प्याला
समाएर तान्दै खुवायो कसैले

कुहू कोयली झैँ मधुर कण्ठ खोली
सुरिला गीतैमा रुवायो कसैले

छुटी स्नेह सामिप्यले मन दुखायो
छताछुल्ल आँसु चुहायो कसैले
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

595.नव वर्ष फुलोस फलोस मेरो शुभकामना

नव वर्ष फुलोस फलोस मेरो शुभकामना
वैरभाव र विरोध ढलोस मेरो शुभकामना

दिदीबहिनी,दाजुभाइ,देश र विदेश सबमा
सदभावको दीप बलोस मेरो शुभकामना

रातो दिनको खिचातानी,छल र बेइमानी
खरानी भै छिट्टै जलोस मेरो शुभकामना

हाम्रो शान र अस्तित्वमा धावा बोल्न खोज्ने
लुटाहारको मस्तक गलोस मेरो शुभकामना

सयौँ थुँगा फूलको माला सजाइ नेपालको
उन्नतिमा पाइला चलोस मेरो शुभकामना

कोमल भट्ट,अमेरिका
28th Dec,2012

594.खीरैखीर पनि दिएर गयौ

खीरैखीर पनि दिएर गयौ
पीरैपीर पनि दिएर गयौ

प्रलयको डरले मुटु नै छेड्ने
झीरैझीर पनि दिएर गयौ

हत्या,हिंसा,लूट र बलात्कारको
भीरैभीर पनि दिएर गयौ

बाँच्न खोज्दा शरशैय्या जस्तै
तीरैतीर पनि दिएर गयौ

अर्धजलमा पुर्याएर चोखो
नीरैनीर पनि दिएर गयौ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
31st December,2013