Wednesday, January 30, 2013

603.कोमल भट्टका ५ गजलहरु

(1) गज़ल
*****
छचल्क्यो जवानी उबायो कसैले
कसी प्रेम पाशमा डुवायो कसैले

अति प्रीतले मन्द मुस्कान छर्दै
सुधा जल खन्याई नुवायो कसैले

हुँदा अर्ध चेतमा पियाएर प्याला
समाएर तान्दै खुवायो कसैले

कुहू कोयली झैँ मधुर कण्ठ खोली
सुरिला गीतैमा रुवायो कसैले

छुटी स्नेह सामिप्यले मन दुखायो
छताछुल्ल आँसु चुहायो कसैले
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका


(2)
गज़ल
*****
सरल शीष्ट बोली नमनले लुट्यो मन्
निरन्तर रसिलो गमनले लुट्यो मन्

बहाना बनाई नजर वाण हान्दा
मीठो चोट हल्का दमनले लुट्यो मन्

समाएर हातै कदम लम्किएको
जुनेली प्रहरको भ्रमणले लुट्यो मन्

सधैँ पूर्ण आभा नियालेर हेर्दा
अविरल मिलेको अमनले लुट्यो मन्

उपस्थित टुटाई हुँदाखेरी टाढा
मुटु पोतिएको समनले लुट्यो मन्

दुबै बाहु पाशमा कसिएर बस्दा
सुधा पान जस्तै रमणले लुट्यो मन्

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
(3)
गज़ल
*****
बिछोडको पीडा नसकी खप्न रुँदैछिन बिचरी
आँसुले भिज्यो तकिया सबै धुँदैछिन बिचरी

वेदना उर्ल्यो श्रावणको बाढी उर्ले झैं गरेर
प्रियाको साथ सम्झेर दु:खी हुँदैछिन बिचरी

हुरुरू उडी जाने मन थियो बिदा नै मिलेन
तैपनि आशा मरेको छैन दुंदैछिन बिचरी

विवशता ठूलो परेर मात्रै परदेशी भएको
आफन्तसँग विरह व्यथा फुँदैछिन बिचरी

आँखामा नाचे परिवार अनि घरबारी कटेरो
यी सबै कुरा स्वप्नामा सधैँ छुँदैछिन बिचरी

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

(4)गज़ल
*****
अशान्तिको आगो सधैँ दन्किएर देश डुब्यो
सीमानामा वैरीहरू तन्किएर देश डुब्यो

आफ्नो औकात बिर्सिएर ठूलाठालू बन्दै हिड्ने
च्याऊ जस्ता नेता सबै सन्किएर देश डुब्यो

निजि स्वार्थ मौलाएर चारै तिर ढाक्दा खेरी
विकासका पूर्वाधार नै थन्किएर देश डुब्यो

जता ततै काम भन्दा दाम प्यारो हुँदै जाँदा
भ्रष्टाचारका मोटा झिँगा भन्किएर देश डुब्यो

कोही सुत्छन चौबाटोमा भोको पेट समाएर
कतै भने डिस्को नाच घन्किएर देश डुब्यो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

(5)मुलुकको खजाना लुटेरै सखाप भो
******************
मुलुकको खजाना लुटेरै सखाप भो
भरोषा र आशा चुटेरै सखाप भो

गरीवी र भोकले सधैँ ग्रस्त पार्दा
समाजका सुस्वप्ना टुटेरै सखाप भो

अशिक्षा र अन्धो समझ फैलिनाले
भविष्यत र भाग्य फुटेरै सखाप भो

इलम क्यै नपाई युवा शक्ति सारा
विदेश तर्फ लर्कन छुटेरै सखाप भो

कहाँ हो सुशासन कहाँ शान्ति देशमा
सबै छल कपटमा जुटेरै सखाप भो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

No comments :

Post a Comment