Wednesday, January 30, 2013

593. कोमल भट्टका गजलहरु

संसारलाई छोड्नै पर्छ किन बेइमानीसेतो कात्रो ओढ्नै पर्छ किन बेइमानी

छोटो हाम्रो जिन्दगानी मरिजाने चोला
यात्रा अन्त मोड्नै पर्छ किन बेइमानी

बाँचुन्जेल हो तेरो मेरो मरेपछि छैन
नाता गोता तोड्नै पर्छ किन बेइमानी

सँगै जान्छन दुईटा कुरा सुधर्म र पाप
मुक्ति मार्ग जोड्नै पर्छ किन बेइमानी

जीवनरुपी बगैँचामा फोहर,मैला,झाश
सफा पारी गोड्नै पर्छ किन बेइमानी

कोमल भट्ट ,
नैकाप काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका


2)गजल
****
बुढेसकालले छोयो अब दुवै गाला चाउरी परे
आयु पनि सकियो कि सबै छाला चाउरी परे

सम्झनलाई गाह्रोभयो स्मरण शक्ति हराएर
विस्मृतिले गर्दाखेरी जीउका चाला चाउरी परे

आँखाभरी नाचे पनि विगतका ती मीठा क्षण
एकादेशको कथा हुँदै प्रीतका माला चाउरी परे

अँधेरीले ढाक्दै गयो धप्प बल्ने रोशनीलाई
सकिएछ तेल क्यारे दीपका पाला चाउरी परे

समय र प्रकृतिको अलौकिक यो रीत कस्तो
बेला आएपछि आफैँ धानका बाला चाउरी परे

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

No comments :

Post a Comment